अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैंडाको पनि नामाकरण गरेको छ ।

सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो ।

ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताउनुभयो । गैंडा लैजानै मिति भने यकिन भएको छैन । हाल चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा रहेको ‘पिट बोमा’ (सानो खोर) मा ती दुई वटा गैंडा छन् । “सकेसम्म छिटो लैजान हामीले भनिरहेका छौँ, साउनमा नभए भदौमा जान्छ,” राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख रामकुमार अर्यालले भन्नुभयो ।

‘मितिनी’ लाई चितवन निकुञ्जको पश्चिम सेक्टरबाट गएको वैशाखमा नियन्त्रणमा लिएर सौराहामा राखिएको हो । ‘सोल्टी’ चाहिँ अघिल्लो वर्ष बाढीले बगाएर भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्धार गरेर ल्याइएको हो ।

गत चैत २८ गते चीनलाई उपहार दिइएको एक जोडी गैंडाको नाम ‘रुपसी र भद्र’ राखिएको थियो । रुपसी र भद्र हाल चीनको चिमे लङसफारीमा रमाइरहेका ती गैंडाको रेखदेखमा रहनुभएका वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामाले जानकारी दिनुभयो ।

सरकारले हालसम्म १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्त अनुसार मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ ।

भारतलाई सन् १९८४ मा चार तथा १९८७ र १९९० मा दुईचोटी गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिएको थियो । सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रियामा दुई÷दुई वटाका दरले १० गैंडा उपहार दिइयो ।

थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई÷दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्यांकमा उल्लेख छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा छन् । नेपालमा गैंडाको संख्या ६४५ छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.