रुकुम चौरजहारी घटना : डोरीले बाँधिएको अवस्थामा भेरी नदी किनारमा  युवकको शव फेला

रुकुम चौरजहारी घटना : डोरीले बाँधिएको अवस्थामा भेरी नदी किनारमा युवकको शव फेला

शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता रहेका जाजरकोटका एक किशोरको शव फेला परेको छ ।

जाजरकोटको भेरी नगरपालिका-११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डोरीले हात बाँधेको अवस्थामा सुनारको शव फेला परेको हो । उनको टाउकोमा समेत चोट लागेको छ ।

योससँगै रुकुम पश्चिमको यो घटनामा ज्यान गुमाउनेहरुको संख्या चार पुगेको छ । यसअघि भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको थियो ।

भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि प्रहरीले गोताखोरको टोली परिचालन गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकले मल्ल थरकी आफ्नी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिका​को गाउँ सोती पुगेका थिए। त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेपछि उक्त घटना भएको थियो।

घटनामा संलग्न भएको भन्दै मृतकका परिवारले २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । रुकुमपश्चिम प्रहरीले वडाध्यक्ष सहित १२ जनालाई पक्रेको छ भने आठ जनाको खोजी भइरहेको जनाएको छ ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.