लुटेरा प्रहरी र पत्रकार सार्वजनिक, लुटपाटमा प्रहरीकै पेस्तोल प्रयोग

लुटेरा प्रहरी र पत्रकार सार्वजनिक, लुटपाटमा प्रहरीकै पेस्तोल प्रयोग

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरा लुटपाटमा संलग्न  ३ प्रहरीसहित ५ जनालाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिकाको भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेतको वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोटको शिवालय २ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङको सिजुवा गाउँपालिका १ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् ।

मकवानपुरको कैलाश गाउँपालिका– ५ चौकीटार घर भएकी ७० वर्षीया धनलक्ष्मी गुरुङको घरमा बहुमुल्य हिरा भएको सूचना पाएपछि यो समूह आइतबार काठमाडौंबाट मकवानपुर पुगेको थियो।

प्रहरीका अनुसार उनीहरु गुरुङको घरमा गएर हिरा किन्ने भन्दै हेरेका थिए। त्यसपछि उनीहरुले पेस्तोल ताक्दै हिरा जस्तो देखिने वस्तु लुटेर फरार भएका थिए।

हिरा लुटपाटको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक विकासकुमार तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई मकवानपुरकै थाहा नगरपालिका–३ स्थित थानाबजारबाट नियन्त्रणमा लिएको थियो ।

उनीहरु प्रदेश ३–०१–००२२ च ३३६२ नम्बरको कारमा सवार भएर भागिरहेको अवस्थामा पक्राउ परेका हुन् । सुरुमा हिरा किन्ने बाहाना बनाएर उनीहरु पीडितको घरसम्म पुगेका थिए । तर त्यहाँ आफूहरु प्रहरी रहेको भन्दै पेस्तोल देखाएर सुन लुटी भागेका थिए ।

प्रहरीले उनीहरुको साथबाट लुटिएको हिरा जस्तो टल्कन वस्तु, चाइनिज पेस्तोल एक थान, यसको म्याग्जिन १ थान, गोली ७ राउण्ड, जिइएम आइडिन्टीफिकेशन रिपोर्ट १ थान, ह्याण्डसेट मोटोराला ४ थान, ल्यापटप १ थान, झोला २ थान, क्यानोनको क्यामेरा १ थान, क्यामेराको लेन्स र झोला १/१ थान, मोबाइल ७ थान, पावर ब्यांक र चार्जर १/१ थान र सिडी १ थान बरामद गरेको छ।

प्रहरीका अनुसार बरामद गरिएको पेस्तोलसमेत प्रहरीको ड्युटी पेस्तोल नै हो ।

उनीहरुलाई डाका कसुरमा कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । डाँका कसुरमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँ जरिवानासम्मको सजायको प्रावधान छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.