नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी प्रारम्भ

नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी प्रारम्भ

नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा तीनदिने बृहत् प्रदर्शनी प्रारम्भ भएको छ ।

जङ्गीअड्डा परिसरमा नेपाली सेनाले आयोजना गरेको प्रदर्शनीको बलाधिकृत रथी शरदकुमार गिरीले आज उद्घाटन गर्नुभयो । प्रदर्शनीमा नेपाली सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर आफ्नो जिम्मेवारी निर्वाहका क्रममा नेपाली सेनाले गरेका उल्लेखनीय काम झल्किने तस्वीर तथा नेपाली सेनाका हातहतियार, ऐतिहासिक एवं हालका उपकरण, पोशाक र सैन्य सामग्री समावेश गरिएको छ ।

प्रदर्शनीमा काठमाडौँ उपत्यकाका शैक्षिक प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आम नागरिकले नेपाली सेनालाई नजिकबाट चिन्ने र नेपाली सेनाप्रतिको सकारात्मक भावना अभिवृद्धि गर्ने लक्ष्यसाथ उहाँहरूलाई प्रदर्शनीमा आमन्त्रण गरिएको बताइएको छ ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञानदेव पाण्डेले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने संवैधानिक जिम्मेवारी तथा नेपाल सरकारबाट प्राप्त कानूनसम्मत निर्देशन विश्वसनीयरूपमा पूरा गर्दै आएको बताउनुभयो ।

प्रदर्शनी अवलोकन गर्न काठमाडौँ महानगरपालिकाका उपप्रमुख, राजधानीस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारी, पुरातत्व विभाग, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानलगायत सङ्घसंस्थाका प्रमुख तथा पदाधिकारी जङ्गी अड्डा पुग्नुभएको थियो ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा उक्त निर्देशनालयको संयोजनमा आयोजित प्रदर्शनी तेस्रो संस्करणको हो । विगत तीन वर्षदेखि सेना दिवसको अवसर पारेर हरेक वर्ष यस्तो बृहत् प्रदर्शनी हुँदै आएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.