दाङको खांग्रा नाकामा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना

दाङको खांग्रा नाकामा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना

दाङको भारतसँग सीमा जोडिएको राजपुर गाउँपालिका वडा नं ६ को खांग्रा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको छ ।

पोष्टको बुधबार सशस्त्र प्रहरी बल नेपाल नं ५ प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेल र दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संयुक्तरुपमा उद्घाटन गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा बल स्थापनापछि अब सीमामा हुने अपराध नियन्त्रण गर्ने, लागुऔषध ओसारपसार जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने बताए ।

उनले भारतसँग सिमाना जोडिएका ११४ वटा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको लक्ष्य रहेको बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले यो आर्थिक वर्षमा दाङको सीमा नाकामा १२ वटा प्रस्तावित सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्ने लक्ष्य रहे तापनि हालसम्म तीन वटा स्थापना गर्न सफल भएको र बाकी नौ वटा क्याम्प स्थापना गर्नका लागि कार्ययोजना बनाइरहेको जानकारी दिए । ।

राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प स्थापना हुनु अत्यन्तै खुशीको कुरा भएको बताउँदै अब नाकाका बासिन्दा भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीसँग हेपिनु नपर्ने बताए ।

अहिलेसम्म नेपाली भूमिलाई विनाबर्दीका सिपाही भएर जनताले सुरक्षा दिएकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा सुरक्षाकर्मीसँग सहकार्य गरेर शान्ति सुरक्षामा सहयोग पु¥याउन आग्रह गरे ।

गसुनपथरी र खांग्रा नाकामा स्थापना भएका सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि पाँच/पाँच लाख उपलब्ध गराउन गाउँपालिकाबाट निर्णय भइसकेको समेत गाउँपालिकाका अध्यक्ष केसीले बताए ।

यसअघि राजापुर गाउँपालिकाको सुनपथरी र कोइलाबास नाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना भइसकेका छन् । पटौली, गुरुङ, भैसाही, भौवा, सिरिया, भौरिसाल, मुसिनाका र डगमारा नाका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्नका लागि प्रस्तावित नाका हुन् ।

यी प्रस्तावित नाकामा सशस्त्र प्रहरीको १२ वटै क्याम्प कम्तीमा छदेखि सात किलोमिटरको दूरीमा रहनेछन् । हाललाई खांग्रा नाकामा रहेका महिलाको उज्यालो समूहको सामुदायिक भवनलाई तारवार गरेर क्याम्प बनाइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक रुपचन्द्र थापाको काण्डमा २५ जनाको टोली त्यहाँ खटाइएको छ । सो अवसरमा २९ नम्बर गण हेडक्वाटर ज्वालामाई भालुबाङका गणपति एसपी नारायण श्रेष्ठ लगायतको सहभागिता थियो ।

उपस्थित स्थानीयले वर्षौंदेखि भारतीय सुरक्षाकर्मी र भारतीय नागरिकको ज्यादति सहनु परेको र सशस्त्र प्रहरीको पोष्ट स्थापना भएपछि अब ज्यादति सहनुपर्ने छैन भनी खुशी भएका छन् ।

उनीहरुले नाकामा राज्यको उपस्थिति भएपछि गर्वले शिर उच्च भएकोसमेत बताएका छन् । भारतसँग सिमाना जोडिएको यो नाकामा ५०/६० घरधुरी बसोबास गरेका छन् । दाङको घोराहीदेखि दक्षिणमा ७०/७५ किलोमिटरको दूरीमा यो नाका अवस्थित छ ।

सडक बाटोको अवस्था नाजुक भएकाले त्यहाँसम्म पुग्नका लागि निकै कठिन छ । अझैसम्म नाका क्षेत्रमा बिजुली बत्ती र नेटवर्कको पहुँच हुन सकेको छैन । हिउँदमा ट्र्याक्टर र मोटरसाइकल मात्र आवतजावत गर्न सक्छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.