प्रहरी उज्यालो अभियानः ट्राफिक नियमबारे एक लाख प्रशिक्षित

प्रहरी उज्यालो अभियानः ट्राफिक नियमबारे एक लाख प्रशिक्षित

काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनामा सडक प्रयोगकर्ता, पैदल यात्रु, चालक, सहचालक तथा विद्यार्थी गरी एक लाख २९ हजारलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको छ ।

ट्राफिक नियम पालना गराई सडक अनुशासन रसचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत पुसदेखि शुरु गरेको तीनमहिने ‘विशेष ट्राफिक उज्यालो अभियान’मार्फत उनीहरुलाई प्रशिक्षित गराइएको हो ।

अभियानका क्रममा १९ हजार ५६९ सार्वजनिक सवारीका चालक तथा सहचालक, २७ हजार मोटरसाइकल चालक र  ६१२ सरकारी गाडीका चालकलाई प्रशिक्षण दिइएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

उक्त अभियानका क्रममा झण्डै ६३ हजार पैदलयात्री र सर्वसाधारणलाई ट्राफिक नियम र सडक अनुशासनका विषयमा जानकारी गराइएको उनले बताए ।

महाशाखाले दैनिक ४० एकाइबाट ट्राफिक नियमसम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना कक्षा चलाएको थियो ।

सो कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे जानकारी दिइएको र घरघरमा सचेतनाका लागि पर्चा –पम्पलेट वितरण गरिएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए । ‘सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ जसका कारण सचेतना कक्षाबाट धेरै लाभान्वित भएका छन्’, प्रवक्ता श्रेष्ठले भने ।

२० हजारलाई सचेतना कक्षा

अभियानका क्रममा जथाभावी बाटो काट्ने १९ हजार ९९८ बटुवालाई सोही ठाउँमा राखेर २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

पैदलयात्रीलाई आकाशे पुल र जेब्राक्रसिङको प्रयोग गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा नियमितरूपमा घोडा परिचालन गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

ट्राफिक उज्यालो अभियानअन्तर्गत रहेर गीतसङ्गीतका माध्यमबाट जेब्राक्रसिङ र आकाशे पुलको प्रयोग, सडक सङ्केतको पालना तथा तीव्र गति र मापसे गरेर गाडी नचलाउन अनुरोध गरिएको उनले बताए ।

उपत्यकाका व्यस्त ४७ चोकमा चालक तथा जेब्राक्रसिङका बटुवालाई लक्ष्य गरी प्रहरीबाटै ट्राफिक नियम लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । मापसे गरी सवारी चलाउने नौ हजार ५६९, लेन अनुशासन पालना नगर्ने आठ हजार २६९, सवारी दुर्घटना गर्ने १०० सहित १७ हजार ९३८ लाई दैनिक कारवाही गरिएको जनाइएको छ ।

गत पुस १ गतेदेखि शुरु भएको उक्त अभियानलाई चैत १ गतेदेखि भने थप परिमार्जन गरी सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.